काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ। बोर्डद्वारा आयोजना गरिएको दुई दिने एआई फिल्ममेकिङ तालिम र १० दिने ड्रोन तालिम कार्यक्रम सोमबारबाट औपचारिक रूपमा सुरु भएका हुन् । यी दुवै कार्यक्रममा गरी कुल १७६ जना सहभागी छन् ।
नेपाल एआई फिल्म अलायन्स (नैफा) को सहकार्यमा सञ्चालन भइरहेको एआई तालिममा १५१ जना सहभागीको उपस्थिति छ। ‘सिनेमाटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’शीर्षकमा सञ्चालन भइरहेको उक्त तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर कथा लेखन, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिहरूबारे प्रशिक्षण दिइनेछ। यस तालिममा करुण थापा, मौसम पुरी लगायतले प्रशिक्षण दिँदै छन् ।
त्यसैगरी, रजत वर्षको अवसरमा सञ्चालन गरिएको १० दिने ड्रोन तालिम कार्यक्रममा २५ जना सहभागी चयन गरिएको छ। फिल्म छायांकनमा ड्रोन प्रविधिको प्रभावकारी प्रयोगलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिममा भारतको वायुरगाथा ड्रोन कम्पनीका प्रशिक्षक मथिशर्मा जी, मणिभारथ वी र पार्थसारथी बी ले प्रशिक्षण दिनेछन्। साथै नेपालका अनुभवी प्रशिक्षकहरू प्रविन भट्टराई (ड्रोन हव नेपालका सञ्चालक तथा लुम्बिनी विश्वविद्यालयका ड्रोन विभाग प्रमुख), प्रभु एयरका पाइलट क्या पाल्देन शेर्पा, इन्स्पेक्टर रमेश शाह, आदर्श राज भुसाल र शाश्वत रिजाल लगायतको समेत प्रशिक्षण रहनेछ।
मानवरहित विमान संघ (उडान) को सहकार्यमा आयोजना गरिएको ड्रोन तालिम कार्यक्रमको उद्घाटनमा उडानका अध्यक्ष राजभाई सुवाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो।




