काठमाडौं । संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीहरुले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि–अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ ।
नाट्यकलाको विश्व संगठन इन्टरनेशनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर आइटिआइ नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पुर्याउने प्रा.डा.अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेका हो ।
डा. सुवेदीलाई उनैले लेखेका नाटकहरुका पात्रहरुले नै मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरिएको हो । उनका मञ्चन भएका नाटकहरुका पात्रहरुको भूमिकामा अभिनय गर्ने कलाकारहरुमध्ये भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, कार्म, सरोज अर्याल, पवित्रा खड्का, दिलिप रानाभाटले मञ्चीय प्रस्तुतिका साथ सम्मान गरेका हुन् ।
डा. सुवेदीको नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समिक्षक तथा नाट्य अभियन्ताका रुपमा विशिष्ट योगदान छ । अभिनन्दन पछि उनले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै आइटिआइको गतिशिलतामाथि चर्चा गरे ।
कार्यक्रमा नाट्यकलाको विश्व संगठनबाट जारी विश्व सन्देशको नेपाली भावानुवाद रङ्गकर्मी सरस्वती चौधरीले वाचन गरेकी थिइन् । यस वर्ष अमेरिकी प्रख्यात रङ्गकर्मी तथा फिल्मकर्मी विलियम डाफोले प्रविधिको युगमा रङ्गमञ्चको अर्थ र महत्व झनै बढेको उल्लेख गर्दै रङ्गमञ्च थप जिम्मेवार हुनुपर्ने विश्व सन्देश दिएका थिए ।
शिल्पी थिएटर बत्तीसपुतलीमा आयोजित विश्व रङ्गमञ्च दिवस समारोहबाटै आइटिआइ नेपालको पुनः स्थापनाको औपचारिक घोषणा समेत गरिएको छ । करिब एक दशकदेखि आइटिआइ वल्र्डसँग विच्छेद भएको सम्बन्धलाई यस पुनः स्थापनाले जोडेको छ ।
पुनः स्थापित आइटिआइ नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की ९परिवर्तन०, पवित्रा खड्का, सिजन दाहाल छन् । जसलाई आइटिआइ वल्र्डको कार्यकारी समितिले अनुमोदन गरिसकेको छ ।




