मन्कलामा आत्मपहिचानको कथा

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बस्ने ३० वर्षीया नेपाली युवतीको आत्मपहिचानको कथा समेटिएको वेब सिरिज ‘मन्कला’को तेस्रो भाग सार्वजनिक भएको छ । न्यू इनभिजन प्रोडक्सनको व्यानरमा निर्माण भएको सिरिजमा ओमराज राउतको लेखन र निर्देशन छ । लेखनमा ओमराजलाई सन्तोष लम्सालले सहकार्य गरेका छन् ।

निर्देशक राउतका अनुसार सिरिजमा नेपाली युवतीको आत्मपहिचानसँगै व्यक्तिगत संघर्ष र भावनात्मक द्वन्द्वलाई समेत प्रस्तुत गरिएको छ । ‘विदेशमा बस्ने युवतीलाई जोकोहीले माया, प्रेम र स्वतन्त्रतामध्ये कुन रोज्ने भन्ने प्रश्न सोधिरहन्छन् । यही प्रश्नको उत्तर मन्कलाले दिएको छ’, राउत भन्छन् ।

सिरिजमा आयुषा सन्जेल क्षेत्री, जयन्द्र चिलुवाल, ल्हाक्पा डोल्पा लामा–चेन, लिजा पौडेल, टीका निरौला र पशुपति श्रेष्ठको अभिनय छ । सिरिजमा जोसेफ शयेरको छायांकन, सन्दीप श्रेष्ठको सम्पादन, निशिता चन्दको प्रोडक्सन डिजाइन, प्रमोद विश्वकर्माको कलर ग्रेडिङ छ । सिरिज न्यू इनभिजन प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।