मितज्यूले जोगाउला सौगात र दयाहाङप्रति दर्शकको विश्वास ?

काठमाडौं । फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा फिल्ममा मात्रै होइन, फिल्म बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् ।

‘लुट’बाट सुरु भएको यो जोडीले हालसम्म थुप्रै फिल्ममा सँगै काम गरेका छन् । त्यसमध्ये ‘कबड्डी’ पनि सफल जोडी हो । ‘लुट’ र ‘कबड्डी’ जस्तै अब ‘मितज्यू’ सफल हुनेमा यसको निर्माण टिम ढुक्क छ ।

फिल्म ‘मितज्यू’मा सौगात र दयाहाङबीच नोकझोक देखिएको छ । ‘मितज्यू’को पोस्टर र टिजरमा यी दुई कलाकार आमनेसामने हुन्छन् । सँगै पनि रहने तर मिल्न पनि नसक्ने चरित्रमा उनीहरू यो सिनेमा देखिएका छन् । यी दुई कलाकारबीच ‘लुट’ र ‘कबड्डी’मा पनि द्वन्द्व देखिएको थियो । दर्शकले सौगात र दयाहाङलाई आपसी नोकझोकमा रुचाएको इतिहास छ । ‘मितज्यू’मा पनि उनीहरू आपसी द्वन्द्वमा फसेको जस्तो टिजरमा देखिएको छ । उनीहरुको यो भूमिकालाई दर्शकले रुचाउनेमा निर्माण टिम ढुक्क देखिएको छ ।

‘हाम्रो सिनेमामा जसरी द्वन्द्व सिर्जना गरिएको छ, यसमा दयाहाङ र सौगातको जुन खालको चरित्र छ, यसमा दर्शकले पक्कै पनि इन्टरटेन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ निर्माता जनक घर्ती मगर भन्छन्, ‘सौगात र दयाहाङले सँगै काम गरेका सिनेमा मध्ये यो दर्शकले सम्झना गर्नलायक चलचित्र बन्नेछ ।’

अनिल बुढा मगरको निर्देशन रहेको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका छन् । यो फिल्ममा सौगात र दयाहाङसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ । तेरियाको यो डेब्यु सिनेमा हो ।

लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत छ । आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।