मनमायाको लैजा चरी शान्तिको धुन

काठमाडौं । संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा सुरु भएको छ । एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको सहयोग र सहकार्यमा काठमाडौंमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’को म्युजिक भिडियो सार्वजनिक गर्दै अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले गीतलाई सन्देशमूलक तथा समयसापेक्ष सिर्जना भएको बताए । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले विश्व शान्तिको सन्देश बोकेको सिर्जनामा सहकार्य गर्न पाएकोमा गर्व लागेको बताइन् ।

सर्जक भट्टराईले आफ्नो सिर्जनात्मक यात्रामा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन् ।

मनमायाका ‘सप्तरंगी फूल हौ तिमी’, ‘नारी शक्ति’ र ‘स्वर्ग जस्तो यो धर्तीलाई’ लगायतका गीत बजारमा आइसकेको छ । गीतमा मनमाया पंगेनी र कमल सौरागको स्वर, शब्द तथा संगीत पनि मनमाया पंगेनीकै रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतमा राजकुमार बगरको मिक्सिङ तथा मास्टरिङको छ ।

गीतको भिडियोमा कलाकार सनम कठायत, अस्मिता खनाल तथा बालकलाकार अनुश्री भट्टराई र श्रीनिधि कठायतले अभिनय गरेका छन् ।